एमसीसीमा माधव नेपालले खोजे ७ सुनिश्चितता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा सात सुनिश्चितता खोजेको बताएका छन् । नयाँ दलको कार्यालय उद्घाटनपछि शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपामा छँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आजै पास गर्ने, भोलि नै पास गर्ने भनेर परराष्ट्रमन्त्रीलाई नगर्नु पर्ने ठाउँमा हस्ताक्षर गराएको र अर्थमन्त्रीले पनि एमसीसीका निम्ति सीमा नाघेर जाने काम गरेको’ बताए ।

ओली सरकारका पालामा भएका कामहरुको आफूहरुले आलोचना गरेको र अहिले नयाँ सरकार बनेपछि पनि एमसीसीलाई केही प्रश्न सोधेको उनले बताए । मुख्यतः सात वटा विषयमा आफूहरुले उठाएको अध्यक्ष नेपालले जानकारी दिएका छन् ।

एक : यो इण्डो प्यासिफिक रणनीति (आईपीएस) को अंग हुन्छ कि हुँदैन ? एमसीसी प्रोजेक्ट कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने कुनै शर्त छ कि छैन ? सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त हामीलाई मञ्जुर छैन । हामी कुनै पनि देशको सुरक्षा रणनीतिको अंग पनि बन्न सक्दैनौं ।

दुई : स्वतन्त्र परराष्ट्र नीति । परराष्ट्र नीतिमा पञ्चशीलको सिद्धान्तलाई अबलम्बन गर्ने र असंलग्न परराष्ट्र नीतिप्रति समर्पित रहन्छौं ।

तेस्रो : छिमेकीहरुमा आशंका पैदा हुने, सुरक्षा आँच पुग्ने स्थितिलाई स्वीकार गर्दैनौं ।

चौथौ : यो प्रोजेक्ट आउँदा जहाँ हाइटेन्सन लाइन बन्छ, त्यो जग्गाको स्वामित्व, सार्वभौम अधिकार नेपालको रहने सुनिश्चितता चाहन्छौं ।

पाँचौं : यो प्रोजेक्टको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चितता चाहन्छौं ।

छैटौं : प्रोजेक्टमा नेपालीहरुले रोजगारी पाउने सुनिश्चित गर्न चाहन्छौं ।

सातौं : लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयले गर्ने सुनिश्चितता चाहन्छौं ।

source : onlinekhaber

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here