चार महिना देखिको बन्द मनकामना मन्दिर आज बाट खुल्यो

गोरखा — मनकामना मन्दिर चार महिनापछि खुलेको छ । प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित मनकामना मन्दिर बुधबार बिहान खुलेसँगै सर्वसधारणहरु पूजा र दर्शनका लागि पुगेका छन् । मन्दिर खुलेसँगै केवलकार सेवा पनि सञ्‍चालनमा आएको छ ।

कोरोना संक्रमणको कारण वैशाख तेस्रो साताबाट मन्दिर प्रवेशमा सर्वसाधारणलाई रोक लगाइएको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी मन्दिर खुला गरिएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘आज पहिलो दिन तीन सयबढी भक्तजनले मन्दिरको दर्शन गरिसकेका छन्,’ उनले भने,‘मन्दिर प्रवेश गर्नेलाई मास्क अनिवार्य र सेनिटाइजरको प्रयोगमा जोड दिएका छौं ।’
भक्तजनलाई मन्दिरको ढोका बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । पूजा सामाग्रीहरु भने मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ । ‘मन्दिरको ढोका खुला हुन्छ, पूजा सामाग्री पुजारीसम्म पुग्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।
मनकामना क्षेत्र प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, ४० मिटरको दुरीमा साबुन पानीले हात धुने प्रबन्ध गर्ने, मन्दिर परिसरमा प्रयाप्त मात्रामा स्यानिटाइजरको प्रबन्ध गर्ने लगायतका आधारभूत कार्यविधि तयार पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here