नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६६औँ वार्षिकोत्सव

आज अगस्त १, नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६६औँ वार्षिकोत्सव । हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदैआएको छ । दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै जन गणतन्त्र चीन र नेपालबीच सन् १९५५, अगस्त १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 
यसरी आधुनिक कालमा नेपाल र चीनबीच स्थापित दौत्य सम्बन्धले दुई देशको आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानको विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । पछिल्लो समयमा, ऐतिहासिक उपलब्धिको रूपमा सन् २०१९ मा तेइस वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लिन सकिन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भम्रणले नेपाल चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । 

यसै गरी, नेपाल विश्वलाई आर्थिक रूपमा समृद्ध तुल्याउने र भाइचाराको विकास गर्ने उद्देश्यसहित चिनियाँ राष्ट्रपति सीद्वारा प्रस्तुत बेल्ट एन्ड रोडमा पनि आबद्ध छ । नेपालमा चिनियाँ लगानी, सहकार्य तथा विकासमा सहयोग यसै फ्रेमवर्कमातहत भित्रिरहेको छ । यस बाहेक, गत वर्ष, विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ चीन र नेपालले संयुक्त रूपमा घोषणा गरेका छन् । 
संयुक्त रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइको घोषणाले नेपाल र चीनको गहिरो मित्रतालाई सगरमाथासरहको उचाइसम्म स्थापित गरेको छ । दुवै देशले वैज्ञानिक अवधारणा अनुसार संयुक्त रूपमा सन् २०२० डिसम्बर ८ (वि.स. २०७७ मंसिर २३, मङ्गलबार) सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर घोषणा गरेका थिए । 
यस अवसरमा चिनियाँ राष्ट्रपतिले सन्देशमार्फत् विगतमा, विश्वको सबैभन्दा अग्लो शिखर चोमोलोङ्मा (सगरमाथा) लाई दुई देशको सीमारेखाको रूपमा सीमाङ्कन गरी चीन-नेपाल मित्रता शिखर नामाकरण गरिएको उल्लेख गर्दै सगरमाथाको नयाँ उचाइको संयुक्त रूपमा घोषणा गर्नु त्यही परम्पराको निरन्तरता भएको अभिव्यक्ति दिएका थिए । उनले सगरमाथा दुई देशको मित्रताको महत्त्वपूर्ण प्रतीक रहेको पनि उल्लेख गरे ।  
चिनियाँ राष्ट्रपति सीले सन्देशमा भनेका छन्, चीन र नेपाल दुवै देशले आपसमा घनिष्ठ समुदायको विकास गर्दै दुई देशका जनताको आपसी लाभ, साझा भविष्य तथा समृद्धिकालागि रणनीतिक साझेदारीका क्षेत्रमा सहकार्य चिरस्थायी हुनेछ । आगामी दिनमा नेपालमा एकता, स्थायित्व, विकास र समृद्धिको मार्गमा अघि बढोस् भन्ने कामना गर्दछु । यसबाहेक, दुवै पक्षले जलवायु परिवर्तन तथा पर्यावरण संरक्षणका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने भएका छन् ।
विश्वलाई कोभिड-१९ (कोरोनाभाइरस) महामारीले प्रभावित बनाइरहेको अवस्थामा पनि दुई देशले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइको घोषणा द्विपक्षीय सम्बन्धमा एउटा कोशेदुङ्गा नै हो । नेपाल चीनबीचको हिमाल र नदीले जोडेको सम्बन्ध हिम र नदीजस्तै पवित्र र हिमालजस्तै विशाल र अटल रहेको यसले पनि पुष्टि गर्दछ । पछिल्लो अवस्थामा, कोभिड-१९ महामारीका कारण चीन र नेपाल मात्रै होइन विश्वभरि नै आदानप्रदान, आवतजावत ठप्प झैँ भएको छ । हाल, सारा संसार यस महामारीबाट उम्कन प्रयासरत् छ । तर, त्यति सजिलो र सहज देखिएको छैन । यो कोभिड-१९ को रोकथाम र यसबाट सुरक्षित रहन पनि चीनले नेपाललाई सहयोग गर्दैआएको छ ।
 
सन् २०२० को प्रारम्भदेखि फैलिएको कोभिड-१९ बाट हाल चीन धेरै हदसम्म सुरक्षित देखिए तापनि प्रारम्भमा स्थिति कहालीलाग्दो थियो । त्यस समयममा नेपाल र नेपालीले सदाशयता व्यक्त गर्दै चीनलाई मास्क उपलब्ध गराएको थियो । यो हार्दिकतालाई चीनले सधैँ सम्झने गरेको छ । 
यही हार्दिकता र सदाशयताको पैँचो तिर्दै चीनले नेपाललाई कोभिड-१९ विरूद्ध लड्न निरन्तर रूपमा आवश्यक सामग्रीहरूको सहयोग गर्दैआएको छ । महामारीको अवस्थामा मास्क तथा स्वास्थ्य सामग्री, अक्सिजन तथा सम्बन्धित सामग्रीहरू चीन केन्द्र सरकारका साथै प्रान्तीय सरकार र चिनियाँ संघसंस्थाले सहयोग स्वरूप उपलब्ध गराएका छन्, जुन अहिले पनि जारी छ । 


यसबाहेक यो कोभिड-१९ लाई परास्त गर्ने हतियारको रूपमा रहेको खोप पनि चीनले उपलब्ध गराएको छ । स्मरण रहोस्, अहिले आवश्यकता खोप हो । तर विश्वमा यसको चरम अभाव सिर्जना भएको छ । विकसित तथा शक्तिशाली देशहरूले यसको उत्पादनसँगै भण्डारण गर्दा विश्व बजारमा अभाव छ । यस्तो भयानक अवस्थामा चिनियाँ खोप मात्रै विकासोन्मुख मुलुककालागि एउटा मात्र आशा बनेको छ । 
चीनले नेपालसहित विकासोन्मुख देशलाई अनुदान तथा सहुलियत दरमा खोप उपलब्ध गराउँदैआएको छ । चीनले नेपाललाई कोभिड-१९ महामारीसँग लड्न उच्च प्राथमिकतामा समेत राखेको छ । चीनले हालसम्म अठार लाख खोप अनुदान स्वरूप प्रदान गरिसकेको छ भने चीनबाट तीस लाख खोप खरीद पनि गरेको छ । 


साथै, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सरकारको प्राथमिकता खोप रहेको बताएका थिए । उनले भनेका थिए, पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप । यसैबीच, प्रधानमन्त्री देउवासँगको हालसालैको भेटमा चिनियाँ राजदूत हौउ यान्छीले नेपाललाई थप खोप दिन चीन तयार रहेको उद्घोष गरेकी थिइन् । अवश्य, चीनले थप खोप सहयोग गर्ने भएको छ । 
चीनले नेपाललाई पहिलो चरणमा उपलब्ध गराएको आठ लाख डोज खोप औपचारिक हस्तान्तरण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदैगर्दा चिनियाँ राजदूतले नेपाललाई भूकम्प, बाढी, ईन्धन सङ्कट, कोरोना भाइरस सङ्कटजस्ता नेपालको विपत्मा निरन्तर सहयोग गर्दैआएको बताएकी थिइन् । चीनले नेपालको दुःखमा सधैँ साथ दिँदैआएको छ । 
साथै, चिनियाँ राष्ट्रपति सीले छिमेकी बलियो भएमा आफू पनि बलियो हुने छ भन्ने विचार बारम्बार व्यक्त गर्ने गरेका छन् । त्यसैले चीनले सधैँ छिमेकी राष्ट्रको विकासलाई पनि आफ्नो प्राथमिकतामा राख्ने गरेको छ । चीनको पञ्च वर्षीय योजनामा समेत मित्रराष्ट्रको हितका विषयलाई समावेश गरिएको छ । चौधौँ पञ्चवर्षीय (२०२१-२०२५) योजनामा तिब्बत स्वायत्त प्रदेशलाई दक्षिण एसियासँग जोड्ने एक महत्त्वपूर्ण कोरिडोर बनाउने परियोजना समावेश गरिएको छ । यसबाट छिमेकी मुलुक नेपालको ढोकासम्मै विकासको लहर पुग्ने निश्चित छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here