रसुवाको प्रसिद्ध गोसाईकुण्ड मेला यसपटक पनि सञ्चालन नहुने

रसुवा – जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाईकुण्ड मेला यस पटक पनि सञ्चालन नहुने भएको छ । शुक्रबार देखि सुरु भएको मेला सञ्चालन नगर्ने निर्णय गरिएको गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । शुक्रबार बसेको समितिको बैठकले कोभिड–१९ को जोखिम कायमै रहेको कारण मेला स्थगित गर्ने निर्णय गरेको अध्यक्ष सन्जीव डिएमले बताउनुभयो ।
मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएपनि कोभिड–१९ का कारण थोरै संख्यामा मात्र तीर्थयात्री आइरहेका छन् । कोरोना बढेपछि गत वर्ष मेला सञ्चालन भएको थिएन । २०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । धुन्चे–गोसाईकुण्ड पदमार्गबाट १४ हजार र काठमाडौँ–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री आएका थिए ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाईवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here