कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री

तत्कालीन माओवादीको लडाकु पृष्ठभूमिबाट राजनीतिमा आएका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । ०२७ सालमा रोल्पाको लिवाङमा जन्मेका केसीले ०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका थिए । माओवादी गठन भएसँगै सोनामको नामबाट उनी जनमुक्ति सेनाको प्लाटुन गठनदेखि कम्पनी कमिसारसम्म भए । २०६० जेठमा भारतको पटनाबाट गिरफ्तार भएपछि बक्सर जेलमा बसे ।

०६३ साउनमा रिहा भएपछि पुन: २०६८ सम्म जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार, नारायणी, भेरी, कर्णाली, सेती र महाकाली ब्युरो इन्चार्ज भए । शान्ति प्रक्रियामा आएपछि केसी तत्कालीन माओवादीको युवा दस्ता वाईसीएलको इञ्चार्जसमेत भए । माओवादी पार्टी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा गए । तर पार्टी एकीकरण हुँदा रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्रमै फर्किए । रोल्पाको १ क बाट प्रदेशसभामा निर्वाचित तिनै केसी अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका छन् । विधि र व्यवस्था परिवर्तनका लागि जनयुद्ध गरेकाले त्यही व्यवस्था र संविधान अनुसारका नीति निर्माण र व्यवहारिक कार्यान्वयनका लागि मुख्यमन्त्री बनेको केसीको भनाइ छ । उनी जनयुद्धको आधार इलाका रोल्पादेखि लुम्बिनी प्रदेशलाई नै सपनाको संसारमा बदल्ने योजनामा छन् । ‘विधि र व्यवस्था परिवर्तनका लागि जनयुद्ध गरियो,’ उनले भने, ‘अहिले त्यही व्यवस्था र संविधान अनुसारका नीति निर्माण र व्यवहारिक कार्यान्वयनका लागि मुख्यमन्त्री बनेको छु ।’
केसी माओवादी केन्द्रसहित कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उमेदवारको समर्थन लिएर मुख्यमन्त्री बनेका छन् । धेरै दलको गठबन्धन बन्नु, धेरै आकांक्षी हुनु तर सबैलाई मन्त्रिपरिषद्‍मा समेट्न नसक्दा हुने प्रतिशोध र असहयोगको उनले सुरुदेखि नै सामना गर्नुपर्ने छ । स्थायी राजधानी तोकिएको दाङमा बुटवलमा रहेको प्रदेशसभादेखि मन्त्रालय सार्नेसम्मका तयारी गरिएका छन् । तिनलाई सार्दा हुने प्रशासनिक खर्चदेखि व्यवस्थापनका चुनौती पहाडजस्तै छन् । सत्ताबाट बाहिरिएर प्रतिपक्ष बनेको एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्ने मात्र होइन पाइला-पाइलामा कमजोरी खोज्ने र असफल पार्न प्रयासरत रहने छ ।
गठबन्धनबीच फागुन ३ पछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति छ । छोटो समयमा मुख्यमन्त्री बन्दा लोकप्रियताका लागि के काम गर्ने उनमा ठूलो चुनौती छ । विश्लेषक एवं मानवअधिकारका लागि शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले मुख्यमन्त्रीले व्यक्तिगत जीवनमा युद्धको धङधङीलाई लोकतान्त्रिक बदल्नेदेखि सहकार्य र समन्वयको भावना बढाउनुपर्ने बताए । ‘धेरै दलको गठबन्धनबाट मुख्यमन्त्री बन्नु, सबै सांसदलाई समेट्न नसक्नु र छोटो समयमा के काम गर्नु भन्नेको अन्योलले उनलाई अझ बढी पिरोल्ने छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here