लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिदै

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो तीन बजेसम्मको समयसीमा तोकेका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका ४१ जनाको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता फकरुद्धिन खानले एक जना स्वतन्त्र सांसदसहित ४२ जनाको हस्ताक्षरमा केसीलाई मुख्यमन्त्रीमा दाबी गर्ने गरी तयारी भइरहेको बताए । ‘अहिले सबै पार्टीको संसदीय दलको बैठक बस्दै छ,’ उनले भने, ‘त्यही बैठकबाट आज हुने सानो मन्त्रिमण्डलका लागि पनि मन्त्रीको नामको टुंगो लाग्ने छ ।’ खानका अनुसार आज चार सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।

गठबन्धनमा रहेका चार दलमध्ये एक प्रदेशसभा सदस्य रहेको जनमोर्चा सरकारमा सहभागी नहुने जनाएको छ । कांग्रेस, माओवादी र जसपाबाट एक/एक जनालाई आजै बिनाविभागीय मन्त्रीको शपथ खुवाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए । ‘ठूला दुवै दलमा आकांक्षी धेरै नै हुनुहुन्छ,’ उनले भने, ‘नयाँ अनुहार र पुराना अनुभवी दुवैलाई मिलाएर मन्त्रिपरिषद बनाउने विषयमा केन्द्रित रहेर छलफल भइरहेका छन्, तर, व्यक्ति र मन्त्रालयको टुंगो लाग्न बाँकी नै छ ।’ बिहीबार सानो आकारको मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here