हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।
दुर्घटनामा ईभी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादवको मृत्यु भएको पुष्टि भएको छ। अन्य मृतकको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
काठमाडौँको टिकाथलीबाट छठ पर्व मनाउन घर फर्कँदै गरेका यात्रु सवार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–६ मा दुर्घटनामा परेको थियो। गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन्।
घाइते हुनेहरूमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन्। एक जना घाइतेको नाम भने खुल्न बाँकी छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
#HorizonKhabar #Dhading #Accident






