आज भाइटीका मनाइँदै, बिहान ११:०७ बजे उत्तम साइत

काठमाडौँ । तिहारको पाँचौँ तथा अन्तिम दिन आज (बुधबार) देशभर भाइटीका पर्व मनाइँदैछ। दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने भाइटीका नेपाली समाजमा विशेष महत्वका साथ मनाउने गरिन्छ।

यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। धार्मिक मान्यताअनुसार टीका लगाउँदा दाजुभाइ पश्चिम फर्कनुपर्ने र टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने परम्परा रहेको छ।

भाइटीका लगाउनका लागि बिहान ११:०७ बजेको समय उत्तम साइत मानिए पनि यही समयमा मात्र टीका लगाउनुपर्ने बाध्यता भने छैन। साइतमा टीका लगाउन सम्भव नभए दिनभर पनि टीका लगाउन सकिने धार्मिक मान्यता रहेको छ।

भाइटीका प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ।

टीका लगाउने क्रममा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेक्ने, पूजा गर्ने तथा मखमली, सयपत्री र गोदावरीका माला पहिर्‍याउने परम्परा छ। टीकापछि ओखर, कटुस, भाइमसला र सेलरोटीलगायत परिकार दिने गरिन्छ। दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।

यसैगरी दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाउने व्यवस्था गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिरमा पुगेर पूजा तथा टीका ग्रहण गर्ने परम्परा छ।

भाइटीकाले पारिवारिक सम्बन्धलाई थप बलियो बनाउनुका साथै आपसी माया, सद्भाव र एकताको सन्देश दिने विश्वास गरिन्छ।

#HorizonKhabar #BhaiTika #Tihar #Nepal