काठमाडौं । बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। यस अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा भक्तजनहरूले श्रद्धा र भक्तिभावका साथ देवीको पूजा गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार मस्तकमा घण्टीको आकारको अर्धचन्द्र धारण गरेकी भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। सिंहलाई वाहन बनाउने माता चन्द्रघण्टा दश हात भएकी देवीका रूपमा वर्णित छिन्। उनका हातमा त्रिशूल, गदा, तरबार, धनुष, बाण, कमल, कमण्डलु र अक्षमालालगायतका वस्तु रहेका छन्। उनले आफ्ना भक्तलाई वरदान दिने र अभय प्रदान गर्ने स्वरूप धारण गरेकी छन्।
धर्मशास्त्रमा माता चन्द्रघण्टालाई शान्ति, शक्ति, साहस र कल्याणकी प्रतीकका रूपमा लिइन्छ। उनको श्रद्धापूर्वक पूजा गर्नाले भय, दुःख, कष्ट तथा बाधा हट्ने र परिवारमा सुख–शान्ति कायम हुने धार्मिक विश्वास छ। देवीको आराधनाले आत्मबल, निर्भयता, वीरता र सकारात्मक भावनाको विकास हुने जनविश्वाससमेत रहेको छ।
पूजाका क्रममा भक्तजनहरूले रातो फूल, फलफूल, चन्दन, धूप, दीप तथा दूध र दूधबाट बनेका परिकार चढाउने परम्परा छ। यस दिन ‘ॐ चन्द्रघण्टायै नमः’ मन्त्र जप गर्दै देवीको स्तुति तथा आरती गर्ने गरिन्छ। कतिपय भक्तजनले दुर्गा सप्तशती पाठ र विशेष मन्त्रको जपसमेत गर्दछन्।
नवरात्रको अवसरमा काठमाडौं उपत्यकाका शोभा भगवती, नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली र बंगलामुखीलगायतका शक्तिपीठमा भक्तजनहरूको उपस्थिति रहने गर्दछ। उपत्यकाबाहिरका विभिन्न शक्तिपीठमा पनि देवीको दर्शन तथा पूजाआजा गर्ने परम्परा छ।
नवरात्रका नौ दिन नवदुर्गाका विभिन्न स्वरूपको पूजा गर्ने धार्मिक परम्पराअनुसार तेस्रो दिन माता चन्द्रघण्टाको आराधना गरिन्छ।






