हरितालिका तीज सुरु, आज दर खाइँदै

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ। भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको हो।

तीजको पहिलो दिन विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ। भोलिपल्ट भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्ने भएकाले त्यसको तयारीस्वरूप अघिल्लो साँझ आडिलो तथा मीठा परिकार खाने चलन रहेको छ।

परम्परागत रूपमा दरमा दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायतका खाद्यपदार्थ खाने गरिन्छ। धर्मशास्त्रीय मान्यताअनुसार दर रात छँदै खाइसक्नुपर्ने उल्लेख छ।

तीज महिलाहरूले आफ्ना दुःख, पीर र भावनाहरू गीत तथा नृत्यमार्फत व्यक्त गर्ने पर्वका रूपमा पनि परिचित छ। माइतीमा भेला भएका दिदीबहिनीले सुख–दुःख साटासाट गर्ने तथा सांस्कृतिक कार्यक्रममार्फत तीज मनाउने गर्छन्।

तर पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडकभडक, महँगा पोसाक तथा गरगहनाको प्रदर्शन र लामो समयअघिदेखि दर खाने प्रवृत्तिप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले तीजको मौलिकता र सांस्कृतिक पक्ष जोगाउँदै पर्व मनाउन आग्रह गरेका छन्।

आज दर खाएपछि भोलि भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत बसिनेछ। त्यसपछि चौथीका दिन गणेश पूजा र भदौ ३० गते ऋषि पञ्चमी पर्व मनाइनेछ। तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ।