काठमाडौ । लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत **‘घरबार’**ले छोटो समयमै ठूलो दर्शकको साथ पाएको छ। बुधबार साँझ सार्वजनिक गरिएको गीतको भिडियो शुक्रबार दिउँसोसम्म २१ लाखभन्दा बढी पटक हेरिएको छ।
गीतले युट्युबमा ८७ हजारभन्दा बढी लाइक र ५ हजारभन्दा बढी कमेन्टसमेत पाएको छ। गीतका विभिन्न अंश अहिले टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चामा छन्।
‘घरबार’ विष्णु माझीको चर्चित तीज गीत शृंखला ‘पुतलीको भट्टी–२२’ मा समावेश छ। गीतमा विवाहित महिलाले भोग्ने पीडा र वेदनालाई विषयवस्तु बनाइएको छ।
गीतमा विष्णु माझीको एकल स्वर रहेको छ भने सुन्दरमणि अधिकारीले शब्द तथा संगीत दिएका छन्। भिडियोमा सुन्दरमणि अधिकारी र ललिता पौडेलको अभिनय छ। भिडियोको निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् भने कोरियोग्राफी मौसम हिमालीको रहेको छ।






