अन्तर्राष्ट्रिय खबर । थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट, आगजनी तथा तोडफोडका घटना भएपछि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।
नाराथिवाट, पट्टानी र याला प्रान्तमा भएका घटनापछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक गरेका छन्। उत्तरमा बाढीको संकट रहेका बेला दक्षिणी क्षेत्रमा सुरक्षा अवस्था बिग्रिएपछि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका हुन्।
घटनामा तीन जना सर्वसाधारण घाइते भएका छन्। अधिकांश घटनामा साना बम विस्फोट, आगजनी र सम्पत्तिमा क्षति पुर्याइएको बताइएको छ। पट्टानीस्थित ७–इलेभेन पसलमा आगजनी हुनुका साथै नाराथिवाटमा रेलमार्गमा बम विस्फोट गराइएको थियो।
रेलमार्गमा क्षति पुगेपछि स्थानीय तथा लामो दूरीका रेल सेवा प्रभावित भएका छन्।
घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। यद्यपि, दक्षिणी थाइल्यान्डमा सक्रिय विद्रोही समूह बारिसन रिभोलुसी नेसनल मेलायु पटानी (बीआरएन) माथि घटनामा संलग्न भएको आशंका गरिएको छ। मुस्लिम बहुल दक्षिणी क्षेत्रमा बढी स्वायत्तताको माग गर्दै आएको बीआरएनले थाई सरकारसँग शान्तिवार्ता पनि गर्दै आएको छ।
नाराथिवाट, पट्टानी र याला थाइल्यान्डका मुस्लिम बहुल दक्षिणी प्रान्त हुन्। त्यहाँको मुस्लिम समुदायले लामो समयदेखि आफूहरूमाथि विभेद भएको गुनासो गर्दै आएको छ। पृथकतावादी आन्दोलन दशकौँदेखि सक्रिय रहे पनि सन् २००४ पछि यस क्षेत्रमा हिंसा तीव्र भएको थियो।
‘डिप साउथ वाच’का अनुसार पछिल्ला २२ वर्षमा दक्षिणी थाइल्यान्डमा भएको हिंसामा ७ हजार ८३७ जनाको मृत्यु भइसकेको छ।
गत जुलाईमा नाराथिवाटस्थित सुरक्षा चौकीमा भएको आक्रमणमा पाँच अर्धसैनिकको मृत्यु भएको थियो भने १० वर्षीय बालकसहित ६ जना सर्वसाधारण घाइते भएका थिए।
स्वतन्त्र सुरक्षा विश्लेषक डन पठानका अनुसार बीआरएनले सरकारसँगको वार्तामा आफ्नो प्रभाव बढाउन हिंसात्मक गतिविधि गर्ने गरेको देखिन्छ। पछिल्ला घटनामा ठूलो संख्यामा मानिसको हत्या गर्नेभन्दा आफ्नो क्षमता प्रदर्शन गर्दै सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्य देखिएको उनको विश्लेषण छ।
प्रधानमन्त्री अनुतिनले सुरक्षा बैठकपछि बाढी प्रभावित उत्तरी नान प्रान्तको निरीक्षण गरेका थिए। दक्षिणी क्षेत्रमा एकैपटक भएका समन्वित हिंसात्मक घटनाले शान्तिवार्ता जारी रहे पनि थाइल्यान्डका लागि सुरक्षा चुनौती कायमै रहेको देखाएको छ।






