काठमाडौं । नेपाल प्रहरीले अनलाइन बेटिङ तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिमाथिको निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। पछिल्लो समय प्रविधिको सहज पहुँचसँगै अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबार बढ्दै गएपछि प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको हो।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ जना विदेशी र २२ जना नेपाली नागरिक रहेका छन्। यसअघि आर्थिक वर्ष २०८१/०८२ मा १४८ जना तथा २०८०/०८१ मा ६२ जना अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ४२ जना पक्राउ परेका छन्। तीमध्ये ७ जना विदेशी र ३५ जना नेपाली नागरिक रहेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा क्रिप्टो कारोबारमा संलग्न ११७ जना र २०८०/०८१ मा १० जना पक्राउ परेका थिए।
प्रहरीले पछिल्लो समय विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका बेला अनलाइन बेटिङ प्लेटफर्महरू बढी सक्रिय हुने गरेको जनाएको छ। यस्तो गतिविधिमाथि निगरानी बढाउँदै सम्भावित सट्टाबाजी हुने स्थान, समूह तथा व्यक्तिबारे सूचना सङ्कलन भइरहेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अनलाइन बेटिङ नेटवर्क तथा क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणका लागि डिजिटल निगरानीसँगै बैंकिङ प्रणाली र डिजिटल वालेटमार्फत हुने कारोबारलाई समेत प्राथमिकताका साथ निगरानीमा राखिएको छ।
प्रहरीका अनुसार अनलाइन बेटिङ साइबर अपराध, ठगी र हुण्डी कारोबारसँग समेत जोडिन सक्ने देखिएको छ। सामाजिक सञ्जालमार्फत मानिसलाई सट्टाबाजीमा आकर्षित गर्ने र त्यसैको आडमा ठगी तथा अवैध आर्थिक कारोबार हुने गरेको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
अनलाइन सट्टाबाजीसम्बन्धी कसुर प्रमाणित भएमा प्रचलित कानुनअनुसार सट्टाबाजीमा प्रयोग भएको बिगो जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
त्यसैगरी, नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार तथा अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा बिगो र त्यसबाट बढेको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद तथा बिगोबमोजिम जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता अवैध कारोबारमा संलग्न व्यक्ति तथा नेटवर्क पहिचानका लागि सूचना सङ्कलन, डिजिटल निगरानी र वित्तीय कारोबारको विश्लेषणलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।






