काठमाडौं। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। केही सडकखण्डमा बाढी तथा पहिरोको जोखिम बढेपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक वर्षाका कारण प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको जनाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु क्षेत्रमा पहिरो खसेको तथा लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरोका कारण भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
वर्षाका कारण सडक अवरुद्ध भएका तथा पहिरो र बाढीको जोखिम रहेका क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०८३






