पहिलोपटक भारतीय राजदूतसँग भेटे बालेनले, पाए भारत भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारत भ्रमण गर्ने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणासहित नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार भएको भेटमा प्रधानमन्त्री शाहले समय मिलाएर भारत भ्रमण गर्ने बताएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री मोदीको शुभकामना सन्देशसहित भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए।

निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री शाहले आफू समय मिलाएर चाँडै भारत भ्रमणमा जाने बताएका प्रधानमन्त्रीको सचिवालयका एक सदस्यलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ।

प्रधानमन्त्री बनेको करिब साढे चार महिनापछि शाहले पहिलोपटक भारतीय राजदूतसँग औपचारिक भेट गरेका हुन्। सोही दिन उनले चिनियाँ राजदूतसँग पनि भेटवार्ता गरेका थिए। दुवै भेटमा प्रधानमन्त्रीसँग उनका सचिवालयका अधिकारी तथा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।

यसअघि प्रधानमन्त्री शाहले भारतीय अधिकारीहरूसँग प्रत्यक्ष भेटवार्ता नगरेका कारण उनको सम्भावित भारत भ्रमणलाई लिएर चासो बढ्दै आएको थियो। भारत भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले यसअघि दिल्ली पुगेर भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत अधिकारीसँग छलफल गरेका थिए।

प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भएमा त्यसअघि भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउन सक्ने सम्भावना रहेको स्रोतहरूले बताएका छन्। भ्रमणका क्रममा हुने द्विपक्षीय भेटवार्ताका विषय र एजेण्डाबारे तयारी गर्न जयशंकर नेपाल आउने सम्भावना रहेको बताइएको छ।

यसैबीच, भारतले आगामी सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ। नेपाल ब्रिक्सको सदस्य नभए पनि बिम्स्टेक सदस्य राष्ट्र भएकाले आउटरिच सम्मेलनमा सहभागी हुने अवसर पाउन सक्ने सम्भावना छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण यही समय आसपास तय भएमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने अवसरसमेत मिल्न सक्ने कूटनीतिक चासो देखिएको छ।

यसअघि सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको गोआमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुँदै भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए।