एकै रातमा करोडौँको बालुवा तस्करी, राज्यलाई राजस्व घाटा: सांसद तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले धादिङसहित देशभर नदी तथा खोलाबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन र तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले कानुनी व्यवस्था र त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा नदीजन्य पदार्थको अवैध कारोबार बढेको बताइन्।
उनका अनुसार बर्खायाममा नदीबाट गिट्टी–बालुवा निकाल्न रोक लगाइए पनि रातिको समयमा ठूलो परिमाणमा उत्खनन तथा ओसारपसार हुने गरेको छ।
उनले अवैध कारोबारका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको दाबी गर्दै यससम्बन्धी विद्यमान कानुन र मापदण्डलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरिन्।

सांसद तामाङले ढुंगा, गिट्टी र बालुवा उत्खनन नै गर्न नहुने आफ्नो धारणा नभएको स्पष्ट पार्दै यसको व्यवस्थित र कानुनी व्यवस्थापन आवश्यक रहेको बताइन्।

धादिङ लगायत देशका विभिन्न नदी तथा खोलामा देखिएको समस्या समाधानका लागि प्रभावकारी अनुगमन, स्पष्ट कानुनी व्यवस्था र राजस्व चुहावट नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।