प्रचण्डले नसकेको काम राजु पाण्डेले गरे, गोकर्णेश्वरका स्थानीय हर्सित

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर–४ स्थित नेपाल ट्रस्टको पर्खालका कारण वर्षौँदेखि साँघुरो र जोखिमपूर्ण बनेको बागमती करिडोरको बाटो विस्तारको प्रक्रिया अघि बढेको छ।

स्थानीयको लामो समयदेखिको गुनासो र मागपछि सांसद राजुनाथ पाण्डेको पहलमा उक्त पर्खाल भत्काउने काम सुरु गरिएको हो। यस घटनासँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चर्चा भए पनि स्थानीयवासीले भने बाटो विस्तारको काम अघि बढेकामा खुसी व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार उक्त साँघुरो बाटोमा मोटरसाइकल चिप्लिने, यात्रु लड्ने तथा दुई सवारीसाधन एकैपटक ओहोरदोहोर गर्न कठिन हुने समस्या वर्षौँदेखि रहँदै आएको थियो।

गोकर्णेश्वर–४ का वडा अध्यक्ष जयराम महतका अनुसार नेपाल ट्रस्ट र नेपाली सेनासँग आवश्यक समन्वय भइरहेको छ। स्वीकृतिपछि भत्काइएको संरचना हटाउने, आवश्यक रुख व्यवस्थापन गर्ने तथा सडक विस्तारको काम अघि बढाइने तयारी छ।

सडक विस्तार सम्पन्न भएपछि गोकर्णेश्वर र कागेश्वरी मनोहरा क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने, वैकल्पिक मार्ग उपलब्ध हुने तथा करिब १.२ किलोमिटर दूरीसमेत छोटिने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले वर्षौँदेखि जोखिमपूर्ण यात्राको बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै सडक विस्तारको कामलाई स्वागत गरेका छन्।