वागमतीसहित ५ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा औसतभन्दा उत्तरतर्फ, तराई क्षेत्रनजिक सक्रिय रहेकाले वर्षाको प्रभाव बढ्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वागमती, गण्डकी, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। विशेषगरी वागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोसीका हिमाली–पहाडी भूभाग, साथै मधेस र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा उच्च वर्षाको सम्भावना रहेको छ।
आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ भने तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहने विभागले जनाएको छ।
विभागले नदी, खोला आसपासका बासिन्दा, पहिरोको जोखिम भएका क्षेत्रका स्थानीय तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।