‘हेलो सरकार’ अब थप प्रभावकारी बन्दै : अत्यावश्यक गुनासा २४ घण्टाभित्र सम्बोधन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो छिटो, पारदर्शी र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘हेलो सरकार’ प्रणालीलाई स्तरोन्नति गर्ने तयारी गरेको छ। यसअन्तर्गत फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र इमेलबाट आउने सबै गुनासालाई एउटै एकीकृत प्रणालीमार्फत व्यवस्थापन गरिने प्रस्ताव गरिएको छ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले सम्बन्धित कार्यालयमै हेलो सरकार प्रणालीमार्फत गुनासा दर्ता गर्न सक्नेछन्। आवश्यक परे स्वचालित रूपमा सम्बन्धित निकायमा गुनासा पठाइनेछ भने प्रगति अनुगमन र सेवाग्राहीलाई जानकारी दिने काम पनि एउटै प्लेटफर्मबाट हुनेछ।

सरकारले टोल–फ्री नम्बर ११११ लाई विभिन्न सरकारी कल सेन्टरसँग अन्तरआबद्ध गर्ने योजना पनि अघि सारेको छ। सेवाग्राहीको समस्या समाधान नभएमा कल पुनः हेलो सरकारमै फर्किने व्यवस्था गरिने प्रस्ताव छ।
प्रस्तावित दिग्दर्शनअनुसार गुनासाको प्रकृतिअनुसार समयसीमा तोकिएको छ। अत्यावश्यक गुनासा २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासा १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था रहनेछ।

गुनासा दर्तामा उल्लेख्य वृद्धि
हेलो सरकारमा आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको १६ हजार ५६८ को तुलनामा ३२१ प्रतिशत बढी हो। पछिल्ला पाँच वर्षमा दर्ता भएका कुल १ लाख २४ हजार ५८१ गुनासामध्ये करिब ५६ प्रतिशत गुनासा गत आर्थिक वर्षमै प्राप्त भएका छन्।

त्यसैगरी पछिल्ला करिब तीन महिनामा मात्रै ५० हजार ७२१ गुनासा दर्ता भएकामध्ये ३९ हजार १७७ गुनासाको समाधान गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म मात्रै ९ हजार ६१० गुनासा दर्ता भएका छन्, जसमध्ये ६ हजार ६०१ गुनासाको फर्छ्योट भइसकेको छ।