काठमाडौ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान अनुसार पहाडी भूभागका अधिकांश स्थान तथा तराईका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान छ। विशेष गरी नदी, खोला, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर सडक खण्डमा यात्रा गर्नेहरूले सावधानी अपनाउनुपर्ने देखिएको छ।
काठमाडौं उपत्यकामा पनि आज दिनभर मौसम पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। बिहान हल्का वर्षा भए पनि दिउँसो र साँझतिर पुनः वर्षा हुन सक्ने सम्भावना रहेको छ। अधिकांश स्थानमा मध्यम वर्षा हुने अनुमान गरिए पनि केही क्षेत्रमा भारी वर्षा हुन सक्ने आकलन गरिएको छ।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरोध हुन सक्ने भएकाले मौसमको पछिल्लो जानकारी हेरेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।






