रुबीभ्यालीको सिङ्ल्हा पासलाई प्रवर्द्धन गर्न डिस्कोभरी वर्ल्ड ट्रेकिङका १८ सदस्यीय टोलि प्रस्थान

धादिङ । नेपालको अग्रणी ट्रेकिङ कम्पनीमध्ये एक डिस्कोभरी वर्ल्ड ट्रेकिङ प्रा.लि. ले रुबी भ्याली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले विशेष अध्ययन भ्रमण सुरु गरिएको छ।

कार्यक्रम संयोजक डोल गुरुङ र केर्सिङ गुरुङका अनुसार टोलीले काठमाडौंबाट यात्रा सुरु गरी नुवाकोटको भाल्चे, किस्पाङ, रुप्चेत हुँदै करिब ४,२०० मिटर उचाइमा रहेको सिङ्ल्हा पास, मचेतखर्क, सेर्तुङ र चालीस तातोपानीसम्म पदयात्रा गर्नेछ। भ्रमणमा कम्पनीका अनुभवी गाइड तथा कर्मचारीहरूको सहभागिता रहेको छ।

भ्रमणका क्रममा सिङ्ल्हा पासको प्राकृतिक सौन्दर्य, हिमशृंखलाको मनोरम दृश्य, जैविक विविधता तथा पर्यटन सम्भावनाबारे विस्तृत अध्ययन गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सिङ्ल्हा पास साहसिक पदयात्रा (ट्रेकिङ) र क्याम्पिङ पर्यटनका लागि नेपालको आकर्षक नयाँ गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।

डिस्कोभरी वर्ल्ड ट्रेकिङका प्रबन्ध निर्देशक पल गुरुङले रुबी भ्याली अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्य बन्न सक्ने पर्याप्त सम्भावना रहेको बताए। रुबी भ्यालीकै स्थानीयसमेत रहेका उनले यहाँको अनुपम प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, हिमाली दृश्य तथा नयाँ पदमार्गले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने भएकाले प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले विगतदेखि नै रुबी भ्यालीसहित दुर्गम क्षेत्रका स्थानीय समुदायलाई शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आर्थिक एवं अन्य विभिन्न प्रकारका सहयोग गर्दै आएको उल्लेख गर्दै कम्पनीले हरेक वर्ष नयाँ तथा सम्भावनायुक्त पर्यटकीय गन्तव्यको अध्ययन र प्रवर्द्धन गर्ने परम्पराअनुसार यस वर्ष रुबी भ्यालीलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

उनका अनुसार रुबी भ्यालीलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न स्थानीय समुदाय, स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य अपरिहार्य छ।

विदेशी पर्यटकलाई हिमाली पदयात्रामा लैजाने नेपालको अग्रणी कम्पनीमध्ये एक डिस्कोभरी वर्ल्ड ट्रेकिङको यस अध्ययन भ्रमणले रुबी भ्यालीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता गतिविधिले क्षेत्रको पहिचान विस्तार हुनुका साथै आगामी दिनमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।