धादिङमा स्वास्थ्य सेवा सुधारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

धादिङ । जनस्वास्थ्य कार्यालय धादिङले सञ्चारकर्मी तथा सरोकारवालासँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा आर्थिक वर्षभर सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रम, प्रमुख उपलब्धि तथा जिल्लाको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको थियो। साथै सरुवा तथा नसर्ने रोगको वर्तमान अवस्था, रोकथाम, नियन्त्रण र जनचेतना अभिवृद्धिका उपायबारे विस्तृत छलफल गरिएको जनाइएको छ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल र जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले सहजीकरण गर्दै स्वास्थ्य सेवा, रोग नियन्त्रणका प्रयास तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए। सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले स्वास्थ्य सेवा प्रभावकारी बनाउन, समयमै स्वास्थ्य सूचना प्रवाह गर्न तथा समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्न सुझाव दिएका थिए।

जनस्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रमा सञ्चारमाध्यम र सरोकारवालाबीच समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।