धादिङ । उत्तरी धादिङको रुबी भ्याली गाउँपालिका–५ स्थित श्री लापा माध्यमिक विद्यालयमा “सेवा र विकासका लागि युवा”, प्राज्ञिक विद्यार्थी परिषद् तथा रुबी भ्याली गाउँपालिका वडा नं. ५ को सहयोगमा २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
असार ७ गते विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेविड घलेको सभापतित्व रहेको थियो। कार्यक्रममा रुबी भ्याली गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रम्बा तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने सेवा र विकासका लागि युवाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कंडेल, प्रथम महिला पूजा पोखरेल, प्राज्ञिक विद्यार्थी परिषद्का विद्यार्थी विस्तारक शुक्लामा तामाङ र अमर तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्थाहरूले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताएका छन्। कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउनुका साथै शैक्षिक वातावरण सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।






