काठमाडौँ । गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्न ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले का अनुसार मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउन गुनासो व्यवस्थापन शाखाअन्तर्गत उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयले नागरिकहरूलाई आफ्ना गुनासा, उजुरी तथा सुझाव टोल–फ्री नम्बर १११२, इमेल [email protected] तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ मार्फत पठाउन आग्रह गरेको छ।
गृह मन्त्रालयले कल सेन्टरमार्फत प्राप्त सुझाव तथा गुनासाहरूको सम्बोधन गर्दै सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउने अपेक्षा गरेको जनाएको छ।





