अमेरिकाको ह्वाइट हाउस नजिक गोली चल्यो : संदिग्धको मृत्यु, एक यात्रु घाइते

अन्तरास्ट्रिय खबर । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ भने एक जना यात्रु घाइते भएका छन्।

बीबीसीका अनुसार घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए। साँझ करिब ६ बजेतिर गोली चलेको आवाज सुनेको त्यहाँ रहेका पत्रकारहरूले बताएका छन्।

अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) का अनुसार १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नजिक एक व्यक्तिले झोलाबाट हतियार निकालेर गोली चलाएका थिए। त्यसपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेका थिए।
गोली लागेर घाइते भएका संदिग्धलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा एक जना यात्रु पनि घाइते भएका छन्। सुरक्षाकर्मी भने सुरक्षित रहेका बताइएको छ।

घटनाका क्रममा राष्ट्रपति ट्रम्पको सुरक्षामा कुनै असर नपरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। सीबीएस न्यूजका अनुसार घटनास्थलमा १५ देखि ३० राउण्डसम्म गोली चलेको थियो।

घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।