धादिङमा ५१ किलो अफिमसहित तीन पक्राउ, भरुवा बन्दुक पनि बरामद

धादिङ । धादिङमा फरार प्रतिवादी खोजी अभियानका क्रममा प्रहरीले ठूलो परिमाणमा अफिमसहित भरुवा बन्दुक बरामद गरेको छ । बेनीघाट रोराङ गाउँपालिका–२ होवाङ क्षेत्रमा गरिएको विशेष अपरेशनमा ५१ किलो १८० ग्राम अफिम जस्तो पदार्थ, तीन थान भरुवा बन्दुक तथा दुई थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लागूऔषध मुद्दामा फरार रहेका ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरीक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा घर तथा गोठमा खोजतलास गर्दा लुकाइराखिएको अवस्थामा अफिम र हतियार फेला पारेको जनाएको छ ।

यसैबीच, सोही क्षेत्रबाट थप दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेकामाथि लागूऔषध तथा अवैध हातहतियार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।