धादिङबेसीमा जापानी भाषा केन्द्र हनाबी इन्टरनेशनल सञ्चालन

धादिङ । सदरमुकाम धादिङबेसीमा जापानी भाषा तथा परामर्श सेवा दिने हनाबी इन्टरनेशनल जापानीज ल्याङ्ग्वेज सेन्टर ले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अब जापान अध्ययनको तयारी गरिरहेका विद्यार्थीले भाषा कक्षा, परामर्श तथा भिसासम्बन्धी सेवा धादिङमै पाउने भएका छन् ।

केन्द्रका सञ्चालक दिपक कुमार श्रेष्ठका अनुसार स्थानीय विद्यार्थीलाई सहज पहुँच दिन शाखा विस्तार गरिएको हो । उनले १२ कक्षा उत्तीर्ण गरी जापान जान चाहने विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तथा जापानी भाषा कक्षा सञ्चालन गरिने बताए ।

त्यस्तै, शिक्षक प्रितम श्रेष्ठले शान्त र सुविधा सम्पन्न वातावरणमा अध्ययनको व्यवस्था गरिएको जानकारी दिँदै स्टुडेन्ट भिसा र SSW भिसासम्बन्धी कक्षा सञ्चालन गरिने बताए । संस्थामार्फत जापानका कलेजमा प्रत्यक्ष आवेदन गर्न सकिने व्यवस्था समेत रहेको जनाइएको छ ।

संस्थाले जापान अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक परामर्श र सहजीकरण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । धादिङमा शाखा सञ्चालन भएपछि अब स्थानीय विद्यार्थीको राजधानी धाउनुपर्ने बाध्यता केही कम हुने अपेक्षा गरिएको छ ।