अन्तरास्ट्रिय खबर । बेइजिङमा अमेरिकी राष्ट्रपति Donald Trump र चिनियाँ राष्ट्रपति Xi Jinping बीच भएको भेटवार्ताका क्रममा सीले अमेरिका–चीन सम्बन्धलाई “रचनात्मक, रणनीतिक र स्थिर” बनाउन चाहेको बताएका छन्।
चिनियाँ विज्ञहरूका अनुसार यस अभिव्यक्तिको अर्थ अमेरिका र चीनबीच प्रतिस्पर्धा र मतभेद भए पनि सम्बन्धलाई टकराव वा युद्धतर्फ जान नदिने बेइजिङको रणनीति हो। चीनले अमेरिकासँग पूर्ण सहकार्य नभए पनि नियन्त्रणबाहिर जाने अवस्था सिर्जना नहोस् भन्ने चाहेको संकेत यसबाट देखिएको विश्लेषण गरिएको छ।
बेइजिङस्थित सिङ्घुआ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक दा वेईले चीन अमेरिकालाई शत्रु बनाउन नचाहेको बताएका छन्। उनका अनुसार चीनले युद्ध वा विभाजनभन्दा संवाद र स्थायित्वलाई प्राथमिकता दिएको हो।
तर केही विशेषज्ञले भने सीको अभिव्यक्तिलाई केवल राजनीतिक भाषणको रूपमा हेरेका छन्। रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ शिन यिन्हले दुवै देशबीच हुने वास्तविक सम्झौता र सहमतिबिना यस्ता अभिव्यक्तिको खास अर्थ नहुने बताएका छन्।
हाल अमेरिका–चीन सम्बन्ध व्यापार, प्रविधि, ताइवान र सुरक्षा मुद्दाका कारण तनावपूर्ण रहँदै आएको छ। यस्तो अवस्थामा सीको भनाइलाई सम्बन्ध बिग्रन नदिने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।






