काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । यो अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ । अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेताले गर्ने कार्यक्रम तय गरिएको छ ।
सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार सरकारी कार्यालयहरूमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन तथा स्वच्छ कार्य वातावरण निर्माणमा विशेष ध्यान दिइनेछ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालय परिसर, सेवा क्षेत्र, प्रवेशद्वार, सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र सफा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
मार्गदर्शनअनुसार सबै शौचालय दुर्गन्धरहित बनाइने, नियमित पानी तथा साबुनको व्यवस्था गरिने र महिलामैत्री तथा अपाङ्गतामैत्री सुविधा सुनिश्चित गरिनेछ । साथै कुहिने र नकुहिने फोहोर छुट्याउन छुट्टाछुट्टै डस्टबिन राख्नुपर्ने तथा खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
कार्यालय परिसरको वरपरको क्षेत्र, नाली तथा ढल सफा राख्नुपर्ने, अव्यवस्थित तार तथा पोस्टर हटाउनुपर्ने र पार्किङ क्षेत्र सुधार गर्नुपर्ने सूचक समेत मार्गदर्शनमा समावेश गरिएको छ । सेवाग्राहीलाई सहज सेवा दिन ‘हेल्प डेस्क’ सञ्चालन तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि रहेको छ ।
अभियानलाई दीगो बनाउन प्रत्येक निकायमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोकिनेछ भने साप्ताहिक सरसफाइ कार्यतालिका बनाएर मासिक स्व–मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ । अभियानको अनुगमन र कार्यान्वयनको जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई दिइएको छ ।






