अन्तर्राष्ट्रिय खबर । अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यको दिशामा महत्वपूर्ण कूटनीतिक पहल अघि बढेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुवै देश १४ बुँदे सम्झौतामा सहमतिको नजिक पुगेका छन् भने आगामी ४८ घण्टाभित्र यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
सम्झौताका मुख्य बुँदामा इरानले आफ्नो आणविक सम्वर्द्धन कार्यक्रम अस्थायी रूपमा रोक्ने, अमेरिकाले इरानमाथिका केही आर्थिक प्रतिबन्ध खुकुलो बनाउने तथा रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति फुकुवा गर्ने विषय समेटिएको बताइएको छ। साथै, होर्मुज जलमार्गमा जहाज आवागमनमा लगाइएका प्रतिबन्ध हटाउने तयारी पनि भएको जनाइएको छ।
सम्झौताअन्तर्गत प्रारम्भिक ३० दिने वार्ता अवधि तय गरिनेछ। उक्त अवधिमा विस्तृत छलफल हुने र वार्ता असफल भए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य कारबाही अघि बढाउन सक्ने सर्तसमेत राखिएको खबरमा उल्लेख छ।
वार्तामा अमेरिकी दूत स्टिभ विट्कोफ, जेरेड कुशनर तथा इरानी अधिकारीहरू सहभागी रहेका छन्। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको र गत महिना पाकिस्तानमै शान्ति वार्ता आयोजना गरिएको जनाइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति Donald Trump ले होर्मुज जलमार्ग सुरक्षाका लागि सञ्चालन गरिएको “प्रोजेक्ट फ्रिडम” नामक नौसैनिक अभियान अस्थायी रूपमा स्थगित गरेका छन्। यसलाई वार्तामा प्रगति भएको संकेतका रूपमा हेरिएको छ।
सम्झौताको सम्भावित खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य घटेको छ भने विश्वभरका सेयर बजारमा समेत सुधार देखिएको बताइएको छ।





