पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ।
हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम थप प्रभावित बनेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा सुरु भइसकेको मौसमविद्ले बताएका छन्।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रमा बदली कायम रहनेछ। केही स्थानमा पुनः वर्षा र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूले विशेषगरी खुला स्थानमा बस्ने, यात्रा गर्ने तथा कृषिमा संलग्न नागरिकलाई सावधानी अपनाउन सुझाव दिएका छन्।