काठमाडौ । नेपाली सेनाले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदमा करिब ४५ सय जनालाई खुला प्रतियोगितामार्फत भर्ना गरिने भएको हो।
भर्ना छनोट निर्देशनालयले जारी गरेको सूचनामा ब.का.सि, सुचिकार, सरसफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस तथा नालबन्दीजस्ता विभिन्न पदमा आवेदन माग गरिएको उल्लेख छ। यी पदहरू नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका स्थानमा पूर्ति गरिने जनाइएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर आवेदन दिन सक्नेछन्। सेनाले शुक्रबारदेखि नै आवेदन खुला गरिएको जनाएको छ भने आगामी जेठ १६ गतेसम्म दरखास्त दिन सकिनेछ।
सेनाले प्रकाशित सूचनामा उमेर, शैक्षिक योग्यता, आवश्यक कागजात तथा छनोट प्रक्रियासम्बन्धी विस्तृत जानकारी उल्लेख गरेको छ। इच्छुक उम्मेदवारलाई समयभित्र आवेदन दिन आग्रह गरिएको छ।






