दुर्गम रुवीभ्यालीदेखि पर्यटन क्षेत्रमा सफलता: पल गुरुङको यात्रा

काठमाडौ । धादिङ जिल्लाको विकट क्षेत्र रुवीभ्यालीमा जन्मिएका पल गुरुङ पर्यटन क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल भएका छन्। संघर्षका अनेकौँ उकाली–ओराली पार गर्दै उहाँ आजका युवाका लागि प्रेरणाको सशक्त स्तम्भ बनेका छन्।

करिब एक दशक अष्ट्रेलियाजस्तो विकसित देशमा अनुभव हासिल गरेपछि “स्वदेशमै केही गर्नुपर्छ” भन्ने दृढ संकल्पसहित नेपाल फर्किएका गुरुङले छोटो समयमै पर्यटन व्यवसायमा उल्लेखनीय सफलता हासिल गरेका हुन्।

व्यवसायिक यात्रासँगै उहाँले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिँदै आउनुभएको छ। विशेषगरी उत्तरी धादिङको रुवीभ्याली लगायत दुर्गम क्षेत्रका आर्थिक रूपमा विपन्न, असहाय तथा बिरामी नागरिकहरूलाई निरन्तर सहयोग गर्दै आउनुका साथै विद्यालयहरूमा न्यानो कपडा, झोला तथा स्टेशनरी सामग्री वितरण गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ।

त्यसैगरी, सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले कम्प्युटर ल्याबका आवस्यक सामग्री सहयोग गर्दै ग्रामीण शिक्षालाई प्रविधिमैत्री बनाउने अभियानमा उहाँ सक्रिय हुनुहुन्छ। यसले उहाँलाई सफल व्यवसायी मात्र नभई समर्पित समाजसेवीको रूपमा समेत स्थापित गरेको छ।

२०७२ सालको विनाशकारी भूकम्पपछि गुरुङले रुवीभ्यालीका प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याउँदै मानवीय सेवा प्रदान गर्नुभएको थियो ।

युवामाझ लोकप्रिय गुरुङ नेपालमै असीमित सम्भावनाहरू रहेको बताउनुहुन्छ। उहाँका अनुसार युवाहरू आफ्नो कर्म र जिम्मेवारीप्रति इमानदार हुन आवश्यक छ। “अवसर खोज्न विदेश नै जानुपर्छ भन्ने सोच परिवर्तन हुन जरुरी छ,” उहाँले भन्नुभयो।

उहाँले सफलता प्राप्त गर्न ब्यक्तिमा धैर्यता, निरन्तरता र समयमै काम सम्पन्न गर्ने क्षमता अपरिहार्य हुनु पर्ने र ठूला ठूला भाषण भन्दा काममा केन्द्रित हुन युवालाई आग्रह गर्नुभएको छ।

हाल सयौँ युवाहरू प्रत्यक्ष रूपमा उहाँसँग आबद्ध भएर रोजगारी र अनुभव हासिल गरिरहेका छन् भने दर्जनौँ युवाहरू उहाँकै प्रेरणा र मार्गदर्शनबाट पर्यटन क्षेत्रमा आत्मनिर्भर बन्न सफल भएका छन्। स्वदेशमै सम्भावना खोज्ने र सिर्जना गर्ने उदाहरणका रूपमा स्थापित गुरुङले नेपाली युवालाई देशभित्रै भविष्य निर्माण गर्न प्रेरित गरिरहेका छन्।