अन्तर्राष्ट्रिय खबर । इन्डोनेसियाको मोलुका टापु आसपास केन्द्रबिन्दु बनाएर बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्प स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको हो।
भूकम्पपछि इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सुनामीको जोखिम देखिएको भन्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ। धक्का जापानसम्म महसुस गरिएको छ भने त्यहाँ पनि समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने बताइएको छ।
घटनामा हालसम्म एक वृद्धाको मृत्यु भएको पुष्टि भएको छ भने केही स्थानमा भवनहरू क्षतिग्रस्त भएका छन्। मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका पराकम्प समेत आइसकेका छन्।
अधिकारीहरूले तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।






