दीपक भट्ट प्रकरण अन्तिम चरणमा, सम्पत्ति र बैंक कारोबार निगरानीमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी/बिचौलिया दीपक भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।
विभागका अनुसार अनुसन्धान तीव्र पारिएसँगै भट्टको पासपोर्ट नियन्त्रणमा राखिएको छ भने उनका नाममा रहेका तथा परिवारसँग सम्बन्धित विभिन्न कम्पनीका सेयरसमेत रोक्का गरिएको छ।
साथै, नेपाल राष्ट्र बैंकमार्फत उनका र परिवारका सदस्यका बैंक खातामा हुने कारोबारमाथि निगरानी बढाइएको बताइएको छ।
अनुसन्धान सुरु भएपछि भट्ट केही समय विदेश पुगेको भए पनि पछिल्लो समय स्वदेश फर्केर सम्बन्धित निकायको सम्पर्कमा आएको जनाइएको छ। उनी केही दिनअघि विभागमा उपस्थित भएको र आवश्यक प्रक्रिया पूरा भएपछि अन्तिम बयान लिने तयारी भइरहेको स्रोतले जनाएको छ।
यसअघि विभिन्न कारणले रोकिँदै आएको अनुसन्धान अहिले तीव्र रूपमा अघि बढाइएको बताइन्छ।
नेपाल हाल अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था (FATF) को ‘ग्रे लिस्ट’ मा रहेको अवस्थामा यस्ता प्रकृतिका मुद्दामा कडाइ गरिएको छ। सो सूचीबाट बाहिरिनका लागि आवश्यक मापदण्ड पूरा गर्न विभागले अनुसन्धानलाई प्राथमिकतामा राख्दै आएको छ।