लमजुङ । दोरदी गाउँपालिका–४ साधिखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीसहित तीन जनामाथि बञ्चरो प्रहार गरी हत्या प्रयास गरेका छन्। घटनामा घाइते तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ४९ वर्षीय बगन गुरुङले ४५ वर्षीया श्रीमती चिजामाया गुरुङ, १० वर्षीय भतिजा अमन गुरुङ र ७१ वर्षीय काका गर्भलाल गुरुङमाथि पालैपालो बञ्चरो प्रहार गरेका हुन्।
घटनामा गम्भीर घाइते भएकी चिजामायाको हातमा गहिरो चोट लाग्नुका साथै पेटमा प्रहार हुँदा आन्तरिक अंगसमेत प्रभावित भएको बताइएको छ। उनको बेसीशहर अस्पतालमा आइसियुमा उपचार भइरहेको छ।
त्यस्तै, बालक अमन गुरुङको टाउकोमा गम्भीर चोट लागेको र उनको चितवनस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काका गर्भलाल गुरुङको टाउकोमा समेत गम्भीर चोट लागेको छ र उनको पनि अवस्था चिन्ताजनक रहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण घटना भएको हुन सक्ने देखिएको छ। स्थानीयका अनुसार आरोपी गुरुङले यसअघि पनि श्रीमतीमाथि हिंसा गरेको पाइएको छ।
घटनामा संलग्न बगन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।






