धादिङ । रुवी भ्याली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का स्वीकृत वार्षिक योजनामध्ये सम्झौता गर्न बाँकी रहेका योजनाहरूका लागि उपभोक्ता समितिहरूलाई सम्झौता गर्न आह्वान गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालय सेर्तुङले सूचना नं. ७ जारी गर्दै बाँकी योजनाहरूको सम्झौता यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएको हो । गाउँपालिकाका अनुसार अधिकांश योजनाहरूको सम्झौता भइसके पनि केही योजनाहरू अझै बाँकी रहेकाले तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।
सूचनाअनुसार चैत ९ गतेदेखि चैत २५ गतेसम्म सबै वडाका उपभोक्ता समितिहरू गाउँ कार्यपालिकाको कार्यालय, बृचेत (सेर्तुङ) मा अनिवार्य रूपमा उपस्थित भई सम्झौता गर्नुपर्नेछ ।
सम्झौताका लागि योजना किताब, उपभोक्ता समितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि, लागत अनुमान, साइड क्लियरेन्स, वडा सिफारिस तथा स्व–घोषणापत्र लगायत आवश्यक कागजातहरू साथमा ल्याउनुपर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न सबै सम्बन्धित पक्षलाई तोकिएको अवधिभित्रै सम्झौता सम्पन्न गर्न अनुरोध गरेको छ ।






