काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीमध्ये पछिल्लो समय जापान सबैभन्दा लोकप्रिय गन्तव्य बनेको देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको विवरण अनुसार विदेश पढ्न जाने विद्यार्थीमध्ये धेरैले व्यवस्थापन विषय रोज्ने गरेका छन्।
चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म करिब २८ हजारभन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर (NOC) लिएका छन्। तीमध्ये सबैभन्दा धेरै विद्यार्थी जापान जाने स्वीकृति लिएका छन्। त्यसपछि अस्ट्रेलिया र बेलायत प्रमुख गन्तव्यका रूपमा रहेका छन्।
अधिकांश विद्यार्थी जापानी भाषा सिकेर अध्ययनसँगै काम गर्ने अवसर पाइने भएकाले जापानतर्फ आकर्षित भएको बताइन्छ। केही वर्षअघिसम्म भने नेपाली विद्यार्थीको मुख्य गन्तव्य अस्ट्रेलिया हुने गरेको थियो।
गत आर्थिक वर्षमा पनि ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश अध्ययनका लागि गएका थिए। तीमध्ये जापान, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया र अमेरिका प्रमुख गन्तव्य रहेका छन्।
विषयगत रूपमा हेर्दा व्यवस्थापन सबैभन्दा धेरैले रोजेको विषय हो। त्यसपछि सूचना प्रविधि, विज्ञान र हस्पिटालिटी अध्ययन गर्ने विद्यार्थीको संख्या उल्लेखनीय रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।






