धादिङ । उत्तरी धादिङ सरोकार समितिसँग प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का तारा चुनाव चिन्हका उम्मेदवार रामबहादुर भण्डारीबीच शुक्रबार संवाद कार्यक्रम सम्पन्न भएको छ। संवादमा साङ्कोस–तिप्लिङ सडक खण्डलाई प्रमुख प्राथमिकताका रूपमा उठाइएको थियो ।
कार्यक्रममा उम्मेदवार भण्डारीले आफू निर्वाचित भए साङ्कोस–तिप्लिङ सडकलाई कालोपत्रे बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “तपाईंहरू अभियानकर्ता बन्नुहोस् र मतदातासम्म यो सन्देश पुर्याउनुहोस्—विकास भण्डारीबाट सम्भव छ।”
उत्तरी धादिङको विकासका लागि यो सडक अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै भण्डारीले यस क्षेत्रको दीर्घकालीन विकासमा सडक पूर्वाधारले निर्णायक भूमिका खेल्ने बताए ।
सरोकार समितिका अध्यक्ष रमेश तामाङका अनुसार साङ्कोस–तिप्लिङ सडक निर्माणको मागसहित उत्तरी क्षेत्रका यस सडकसँग जोडिएका सबै स्थानीय तहमा पुगेर तीन हजारभन्दा बढी नागरिकको हस्ताक्षर संकलन गरिसकिएको छ।
तामाङले हालसम्म सोही क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोध नारायण श्रेष्ठसँग पनि प्रतिबद्धता जनाउन अपिल गरिसकिएको जानकारी दिए। साथै अन्य राजनीतिक दलका बाँकी उम्मेदवारहरूसँग पनि यस विषयमा अपिल गर्ने तयारी भइरहेको उनले बताए।






