पोर्चुगलमा फेब्रुअरी ८ मा सोनाम ल्होछार विशेष बृहत् सांगितिक कार्यक्रम हुँदै

लिस्बन, पोर्चुगल । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा ‘सोनाम ल्होछार विशेष बृहत् सांगितिक साँझ–२०२६’ आयोजना हुने भएको छ। मञ्जुश्री संवत् २८६२ (ता ल्हो/घोडा वर्ग) को अवसर पारेर उक्त कार्यक्रम फेब्रुअरी ८ तारिख आयोजना गर्न लागिएको हो।
नेपाल राष्ट्रिय तामाङ घेदुङ–पोर्चुगलको आयोजनामा हुने कार्यक्रम पोर्चुगलको लिस्बनस्थित República Da Música, Rua Do Centro Cultural, 29, 1700–106 Lisboa मा दिउँसो १२ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा तामाङ तथा नेपाली संगीत क्षेत्रमा परिचित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। सांगितिक साँझमा उर्गेन डोङ, रमला पाख्रिन, अर्जुन सुनाम, दिला बीके, गीता लामा, अनु गुरुङ, कला पंगेनी, सजना बास्तोला, रितिका कुनवर र गीता रेउले लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य तामाङ समुदायको पहिचान, भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै विश्वभर छरिएर रहेका तामाङहरूको एकता सुदृढ गर्नु रहेको छ।
पोर्चुगलमा रहेका नेपाली तथा तामाङ समुदायलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछारलाई उल्लासमय रूपमा मनाउन आयोजकले आग्रह गरेको छ।