धादिङ । जिल्लामा पछिल्ला वर्षहरूमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको निष्कर्षसहित जिल्ला स्तरीय समन्वय कार्यक्रम सम्पन्न भएको छ। नसर्ने रोगको रोकथाम, न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका विषयमा सरोकारवालाबीच छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो।
धादिङ जिल्ला अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सरजस्ता नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढ्दै गएको जानकारी गराउँदै यसले स्वास्थ्य प्रणाली र समाजमा गम्भीर चुनौती सिर्जना गरिरहेको बताए। उनका अनुसार सर्ने रोगको तुलनामा नसर्ने रोगका कारण मृत्यु तथा दीर्घरोगीको संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको छ।
सो अवसरमा माघ २७ गतेदेखि २९ गतेसम्म धादिङ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो। उक्त अवधिमा करिब २ हजार ७ सय ३३ जनालाई खोप लगाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यक्रममा नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याका जोखिम कारक, रोकथामका उपाय, उपचार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै सरकारी निकाय, स्थानीय तह, स्वास्थ्य संस्था र अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
वक्ताहरूले स्वस्थ जीवनशैली अपनाउने, धूम्रपान तथा मदिरा सेवन नियन्त्रण गर्ने, सन्तुलित खानपान, नियमित व्यायाम, समयमै स्वास्थ्य परीक्षण तथा मानसिक स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय प्रमुख नवराज अधिकारीले नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको समाधानका लागि स्थानीय तहदेखि समुदायस्तरसम्म एकीकृत प्रयास आवश्यक रहेको बताए। यस्ता समन्वयात्मक कार्यक्रमले जनचेतना अभिवृद्धि र प्रभावकारी नीति कार्यान्वयनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।






