धादिङ। गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य डा. सीता ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि धादिङको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।
केही दिनअघि मात्रै सार्वजनिक भएको नेकपाको केन्द्रीय सदस्य सूचीमा डा. ढुंगानाको नाम समावेश थियो। तर उक्त सूची सार्वजनिक भएको छोटो समयमै उनले नेकपा परित्याग गर्दै रास्वपामा प्रवेश गरेपछि वाम राजनीतिभित्र नयाँ बहस सुरु भएको छ।
डा. ढुंगानाले आफ्नो राजनीतिक यात्रा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट गजुरी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुँदै सुरु गरेकी थिइन्। त्यसपछि उनी नेकपा (एकीकृत समाजवादी) हुँदै नेकपामा सक्रिय रहँदै आएकी थिइन्। पछिल्लो समय भने उनले वैकल्पिक राजनीतिक धारको पक्षमा उभिँदै रास्वपामा आबद्ध हुने निर्णय गरेकी हुन्।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार डा. ढुंगानाको पार्टी परिवर्तनलाई परम्परागत वाम दलहरूप्रतिको बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणका रूपमा लिइएको छ। विशेषगरी शिक्षित, पेशागत र युवा मतदातामाझ रास्वपाको प्रभाव बढ्दै गएको संकेतका रूपमा पनि यो प्रवेशलाई हेरिएको छ।
यस घटनाले धादिङको वाम राजनीति तथा प्रदेशस्तरको राजनीतिक समीकरणमा असर पार्ने चर्चा चलेको छ। विशेषगरी पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेको राजनीतिक आधारमा यसले धक्का पुर्याएको विश्लेषण हुन थालेको छ।
डा. ढुंगानाको रास्वपा प्रवेशसँगै धादिङ जिल्लामा पार्टीको संगठन विस्तार थप सुदृढ हुने र आगामी निर्वाचनमा नयाँ प्रतिस्पर्धा देखिने अपेक्षा गरिएको छ।






