धादिङ । निलकण्ठ नगरपालिका वडा नं. ०७ अन्तर्गत तारुखर्कस्थित बग्रटोलमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी समुदायस्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। श्री जलकन्या देवी सातमुले आमा समूहको सक्रिय सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
स्थानीय समाजसेवी तथा पत्रकार नवराज श्रेष्ठ चट्टानको पहलमा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, कानुनी प्रक्रिया तथा ठगीबाट जोगिने उपायबारे जानकारी दिइएको थियो। वैदेशिक रोजगारका अवसरसँगै त्यससँग जोडिएका जोखिमबारे समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का स्वयंसेवक कमला कोइराला र राममाया श्रेष्ठले सहजीकरण गर्दै सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप सिकेर मात्र जाने, सही र आधिकारिक स्रोतबाट जानकारी लिएर प्रक्रिया अघि बढाउने, श्रम स्वीकृति, करारपत्र तथा अन्य आवश्यक कागजात सुरक्षित राख्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका पहलकर्ता नवराज श्रेष्ठ चट्टानले गाउँका महिला तथा युवाहरू वैदेशिक रोजगारीमा जाँदा सुरक्षित, सचेत र आफ्ना अधिकारबारे जानकार बनून् भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
कार्यक्रममा सहभागी आमा समूहका सदस्यहरूले यस्ता सचेतनामूलक कार्यक्रमले आफू तथा आफ्ना परिवारलाई वैदेशिक रोजगारसँग जोडिएका जोखिमबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।






