काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
समसामयिक राजनीतिक अवस्था, देशको वर्तमान संकट, सरकारको आगामी कदम तथा सम्भावित निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। पछिल्लो समय बढ्दै गएको राजनीतिक अस्थिरता र चुनावको विषयलाई लिएर दलहरूबीच मतभेद देखिइरहेका बेला प्रधानमन्त्रीको पहलमा शीर्ष नेताहरूबीच संवाद सुरु भएको हो।
छलफल जारी रहेकाले यसबारे औपचारिक निष्कर्ष सार्वजनिक गरिएको छैन। तर, राष्ट्रिय सहमति, राजनीतिक निकास र आगामी कार्यदिशाका विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको स्रोतको भनाइ छ।
प्रधानमन्त्रीले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै आइरहेकी छन्। आजको छलफललाई वर्तमान राजनीतिक गतिरोध समाधानतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।






