काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र ठूला राजनीतिक दलका शीर्ष नेताबीच भएको छलफलमा राजनीतिक निकासबारे दुई फरक धार देखिएका छन्।
छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने अडानमा देखिए भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण नबनेको भन्दै संसद् पुनर्स्थापनाको विकल्पतर्फ जोड दिएका छन्।
आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि वातावरण बनाउने प्रयासस्वरूप राष्ट्रपति पौडेलले प्रधानमन्त्री र प्रमुख दलका नेताहरूसँग छलफल गरेका हुन्। जेनजी आन्दोलनपछि बनेको चुनावी सरकार गठन भएयता शीर्ष नेताबीच भएको यो पहिलो बैठक हो।
छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी चुनावविरोधी नभएको स्पष्ट पार्दै हाल देशभर चुनावी गतिविधि गर्न सकिने अवस्था नरहेको बताएका थिए। आफूलाई काठमाडौँ बाहिर जानसमेत कठिनाइ भएको अवस्थामा चुनावी वातावरण कसरी बन्ने भन्ने प्रश्न ओलीले उठाएका थिए।
कांग्रेस सभापति देउवाले पनि तोकिएको मितिमा निर्वाचन हुन नसक्ने अवस्था आएको भन्दै संसद् पुनर्स्थापनातर्फ जानुपर्ने संकेत गरेका थिए।
यसविपरीत, नेकपा संयोजक प्रचण्डले निरन्तर रूपमा निर्वाचनकै पक्षमा आफ्नो धारणा राख्दै सबै मिलेर वातावरण बनाएर चुनावमा जानुपर्ने बताए। सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने र लिन सक्ने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने भन्दै शीर्ष नेताहरूलाई ढुक्क भएर तयारीमा लाग्न आग्रह गरिन्। राष्ट्रपति पौडेलले पनि देशको संवेदनशील अवस्थामा निकासका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका थिए।
शीतल निवासको यो छलफललाई राजनीतिक ‘आइस ब्रेक’का रूपमा हेरिएको छ। प्रधानमन्त्री कार्कीले छलफललाई निरन्तरता दिँदै अर्को बैठक बालुवाटारमा राख्ने जानकारी दिएकी छन्।






