किसानले ३६ रुपैयाँ पाउने केरा उपभोक्तासम्म आइपुग्दा २००, बिचौलियाको नाफा कति ?

काठमाडौँ । जाडो मौसम सुरु भएसँगै सामान्यतया सस्तो हुने केरा यस वर्ष भने उल्टै महँगिएको छ। किसानले बोटमै प्रतिदर्जन करिब ३६ रुपैयाँमा बेच्ने केरा उपभोक्ताले किन्दा १७० देखि २०० रुपैयाँसम्म तिर्नु परिरहेको छ। यसले बजार व्यवस्थापन र मूल्य निर्धारण प्रणालीमाथि प्रश्न उठाएको छ।
बजारमा केराको मूल्य बढ्नुको प्रमुख कारण भारतबाट हुने आयातमा सरकारले कडाइ गर्नु हो। केरामा देखिएको ‘पानामा टीआर–४’ रोगको जोखिमका कारण सरकारले भारतीय केराको आयातमा नियन्त्रण गरेपछि स्वदेशी उत्पादनले बजार पाउन थालेको छ। यसबाट किसानलाई राहत पुगेको भए पनि उपभोक्ता भने महँगो मूल्यको मारमा परेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक वर्षको अवधिमा केराको औसत मूल्य उल्लेखनीय रूपमा बढेको छ। जाडो महिनामा खपत कम हुने समयमा पनि मूल्य नघट्नुले बजारमा आपूर्ति र मूल्य नियन्त्रण कमजोर रहेको संकेत गर्छ।
नेपाल केरा उत्पादक महासंघका अनुसार विगतमा भारतीय केराको अत्यधिक आयातका कारण किसानले उत्पादनको मूल्यसमेत नपाउने अवस्था थियो। अहिले आयातमा कडाइ भएपछि किसानले केही राहत महसुस गरेका छन्। तर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीचको ठूलो अन्तर बिचौलिया हाबी भएको प्रमाण भएको उनीहरूको भनाइ छ।
हाल नेपालमा करिब १२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती भइरहेको छ र वार्षिक ६ देखि ७ लाख मेट्रिक टन उत्पादन हुँदै आएको छ। सरकारले यही नीतिलाई निरन्तरता दिँदै किसानलाई प्रोत्साहन गर्न सके आगामी केही वर्षमै नेपाल केरामा आत्मनिर्भर बन्न सक्ने सम्भावना देखिन्छ।
तर त्यसका लागि बजार अनुगमन प्रभावकारी बनाउने, बिचौलिया नियन्त्रण गर्ने र किसान तथा उपभोक्ता दुवैलाई न्याय हुने मूल्य संरचना बनाउनु आवश्यक देखिन्छ। नत्र किसानले उत्पादनको उचित मूल्य पाए पनि उपभोक्ताले सधैँ महँगो मूल्य तिर्न बाध्य हुने अवस्था कायमै रहनेछ।