काठमाडौं । सरकारले थप तीनवटा जलविद्युत् परियोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले गोरखाको चुम्चेतस्थित चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई अनुमति पत्र जारी गरेको हो।
४५ मेगावाट क्षमताको यो परियोजना चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्नेछ। बुढीगण्डकी नदी प्रणालीअन्तर्गत पर्ने यो आयोजना नदी प्रवाह आधारित हुने र वार्षिक करिब ३४८ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ।
उत्पादित बिजुलीलाई न्यू बुढीगण्डकी सबस्टेशनमा जोडिनेछ। त्यहाँसम्म बिजुली पुर्याउन २२० केभी क्षमताको करिब ११० किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले जिम्मा लिएको छ।
रसुवागढी, साञ्जेन, मध्य भोटेकोशी जस्ता आयोजना सम्पन्न भइसकेका चिलिमे जलविद्युत् कम्पनीका लागि यो अर्को महत्वपूर्ण परियोजना मानिएको छ।






