युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा नोभेम्बर २७ सम्म प्रतिक्रिया दिन ट्रम्पको अल्टिमेटम

अन्तर्राष्ट्रिय खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले नोभेम्बर २७ भित्र प्रतिक्रिया दिनुपर्ने समय तोकेका छन्।

उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश “अत्यन्त कठिन मोडमा पुगेको” भन्दै सम्मान जोगाउने वा प्रमुख साझेदार गुमाउने जोखिमबीच कठोर निर्णयको दहलीजमा उभिएको बताएका छन्।

ट्रम्पले फक्स न्युज रेडियोसँगको कुराकानीमा वार्तामा प्रगति देखिए समयसीमा लचक हुन सक्ने बताए। उनका अनुसार युक्रेनले ढिलो निर्णय लिँदा युद्धमा थप कमजोर हुने सम्भावना छ।

यसअघि अमेरिकाका उच्च अधिकारी तथा युरोपेली सुरक्षा सल्लाहकारहरूसँग समन्वय गरेर “शान्तिको बाटो व्यवहारिक बनाउने” सहमति भएको जेलेन्स्कीले बताएका थिए।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको नयाँ २८ बुँदे प्रस्ताव पहिले अलास्कामा ट्रम्पसँग भएको छलफलकै अद्यावधिक संस्करणजस्तै रहेको प्रतिक्रिया दिएका छन्। रुसले सो प्रस्तावको पाठ प्राप्त भइसकेको र अब विस्तृत अध्ययन गर्ने बताइएको छ।