काठमाडौं । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन्।
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता निलम्बनमा परेपछि ओलीका एकल उम्मेदवारीको योजना असफल भएको छ। अब पोखरेल ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न तयार भएका हुन्।
पोखरेलको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायत सचिवालयका बहुमत सदस्य रहेको एमाले नेताहरूले बताएका छन्।
२०७८ मंसिरमा सम्पन्न दसौँ महाधिवेशनमा ओली अध्यक्ष निर्वाचित हुँदा पोखरेल वरिष्ठ उपाध्यक्ष बनेका थिए। यसपटक पनि उनले ओलीको नेतृत्वमा चुनौती दिने तयारी गरेका हुन्।
ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधन गरी उमेर हद र दुई कार्यकालको सीमा हटाइसकेका छन्। तर, पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग बढ्दै गएपछि पोखरेलसहितका नेताहरू प्रतिस्पर्धामा उत्रन लागेको बताइन्छ।
महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। त्यसमा करिब २१ सय प्रतिनिधि सहभागी हुनेछन्।
एमालेभित्र यसपटक ओलीविरुद्ध पोखरेलको नेतृत्वमा छुट्टै प्यानल बन्ने सम्भावना देखिएको छ, जसले पार्टीमा कडा प्रतिस्पर्धा ल्याउने अपेक्षा गरिएको छ।




























