धादिङ । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षापछि धादिङको निलकण्ठ नगरपालिका–६ स्थित आगो खोलामा आएको भीषण बाढीले जनधन र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण निलकण्ठ–६ र ५ जोड्ने सडक खण्डमा भइरहेको निर्माणस्थलमा काम गरिरहेका मजदुरहरू बगाएको बताइएको छ। स्थानीयवासीका अनुसार चिवतन सक्तीखोरका अन्दाजी २० वर्षीय हरि तामाङ बगेर करिब ३ किलोमिटर तल कोसी खोलामा मृत अवस्थामा फेला परेका छन्।
घटनापछि सो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आसपासका संरचनामा पनि क्षति पुगेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सक्रियतामा उद्धार तथा खोजतलास कार्य जारी छ।
स्थानीय समाजसेवी राजकुमार गौतमका अनुसार बाढीले सम्पूर्ण क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ। “रातभरि वर्षाले खोला थामिनसक्नु गर्यो, सडक मात्रै होइन, बस्ती नै डरमा छ,” उनले भने।
हालसम्म अन्य बेपत्ता व्यक्तिको खोजी जारी रहेको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, प्रहरी र रेडक्रसका टोली उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।






